काठमाडौं, १७ जेठ । प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष एवं रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सञ्चार जगतको माग र मुद्दालाई सम्बोधन नगरिएको भन्दै आपत्ति जनाएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण खम्बाको रुपमा रहेको सञ्चार जगतलाई बजेट वक्तव्यमा सरकारले बेवास्ता गरेको बताएका हुन् । उनले
‘भुईँ मान्छेको समाचार सम्प्रेषण गर्ने सञ्चार जगत, जनताको आवाज बोल्ने सञ्चार जगत, लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण खम्बा, संघीय लोकतान्त्रिक गणतन्त्रको लागि लडेको सञ्चार तर आज सरकारले सञ्चार जगतलाई जसरी सहयोग र समर्थन गर्नुपर्थ्यो त्यो गरेको छैन,’– उनले भने ।
पत्रकार धमलाले सरकारले नेपाली सञ्चार जगतलाई बेवास्ता गरे पनि सञ्चार जगत र सञ्चारकर्मीहरुले निरन्तर खबरदारी गर्ने, भ्रष्टाचारको नियन्त्रणका लागि भूमिका निर्वाह गर्ने र आम जनताको पीडालाई प्राथमिकता दिनेगरी समाचार प्रशारण र प्रकाशन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया