काठमाडौं, १७ जेठ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेको प्रश्न सामान्य नभएको टिप्पणी गरेका छन् । उनले भने,‘गृहमन्त्रीमाथि अहिले जुन किसिमले प्रश्न उठेको छ, यो सामान्य प्रश्न होईन । सामान्य प्रश्न भएको भए हामी संसद् अवरुद्ध गर्दैनथियौं । बडो चाखलाग्दो कुरा पनि छ, यो संसद्को यात्रा लामो समयदेखि म हेरिरहेको छु, अघिल्लो संसदमा केही मन्त्रीहरुमाथि गम्भीर प्रश्न उठिसकेपछि राजीनामा दिएका थिए, र मार्गप्रशस्त गरेका थिए ।’ तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि केही प्रश्न उठ्दा शर्माले निश्पक्ष छानबिनको लागि मार्गप्रशस्त गरेको दृष्टान्त सुनाए । एमालेका मन्त्रीहरुमाथि पनि प्रश्न उठ्दा कुनै छानबिनबिना नै मार्गप्रशस्त गरेको मोदीले स्मरण गराए । जनार्दन शर्मा छानबिन सकिएपछि निर्दोष भएर पूनः मन्त्रीको जिम्मेवारीमा फर्किएका पनि उनले इतिहास सुनाए ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रमुख प्रतिपक्षको भूमिकामा रहँदा अहिलेका गृहमन्त्री रमेश लेखकले पनि सदनमा उभिएर यदि मन्त्रीमाथि प्रश्न उठ्यो भने छानबिनको लागि सहयोग पुर्याउन राजीनामा दिनुपर्छ भनेर बोलेको सम्झाए । उनले भने,‘अहिलेका गृहमन्त्रीले नै भ्रष्टाचारको वा आचरणको विषयमा जनताले प्रश्न उठाएपछि मार्गप्रशस्त गर्नुपर्छ भनेर उहाँले स्वयम बोल्नुभएको हो । तर, अहिलेको यो प्रकरणमा भने उहाँहरुले यो कुरा एउटा कर्मचारीलाई मात्रै फकाईरहनुभएको छ । कर्मचारीलाई मात्रै दोष देखाएर आफू पन्छिने बानी कसैलै गर्छ भने गलत हो ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कांग्रेस–एमालेको सरकार जुन उद्देश्यले बनेको हो त्यसको उद्देश्य अहिले पूर्ति भैरहेको टिप्पणी गरे । प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको विरुद्धमा फाईल खोलिरहेको अवस्थामा यो सरकार बनेको उनको दाबी छ । अख्तियारका डिआईजीको सरुवा र लगत्तै यथावत राखिएको विषयमा उनले गम्भीर प्रश्न उठाए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिँदामात्रै आफूहरु सदनको अवरोध हटाउने पक्षमा रहेको बताए । गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद्को अवरोध कायमै राख्ने उनको चेतावनी छ । उनले भने,‘कारण के भने प्रमाणहरु नष्ट हुनसक्छन्, छानबिनमा प्रभाव हुने भएकाले उहाँले राजीनामा दिँदा नै उपयुक्त हुन्छ । हामीले यही कुरा भनिराखेका छौं ।’
उनले गृहमन्त्रीमाथि यत्रो आरोप लागेर प्रश्न उठिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भने राजीनामा दिन नपर्ने भनेर गरेको बचाउको आलोचना गरे । उनले भने,‘आफ्नै क्याविनेटको मन्त्रीमाथि यत्रो गम्भीर प्रश्न उठ्दा उहाँ गम्भीर बचाउमा उत्रिएपछि आम जनताले के सोचिराखेका होला ? के भनिराखेको होला ? कस्तो गम्भीर प्रश्न उठिरहेको होला ? जुन उद्देश्यले यो सरकार बनेको थियो, भ्रष्टाचारीलाई संरक्षण गर्ने, दलाल माफियाहरुलाई संरक्षण गर्ने, विचौलियाको सेटिङबाट काम गर्ने हो । त्यही भएर अहिलेका गृहमन्त्री र प्रधानमन्त्री लागिरहेका छन्, हामीलाई यसमा अनौठो लागिरहेको छैन् ।’
उनले आफूहरुलाई गृहमन्त्री लेखकसँग कुनै आग्रह वा पूवाग्रह नभएको स्पष्ट पारे । उनले भने,‘हामीलाई सरकारपनि चाहिएको छैन् । हामीले अहिले नेपाली कांग्रेसको भ्रष्टाचारको फाईलहरु यत्रो गम्भीर प्रश्नहरुको छ, हामीले सुनाईदियौं भने त यहाँ त फाईल फाईलका काण्ड भएका छन् ।’ गिरिबन्धु टि–स्टेट काण्डको पनि उनले कुरा सुनाए । पोखरा विमानस्थलको भ्रष्टाचारको काण्डबारे पनि कारबाहीको लागि पत्राचार गरिएको उनले स्पष्ट पारे । अहिलेको सरकारले पछिल्लो समय देशको हितविपरित काम गरिरहेको उनको आरोप छ ।
मरिसकेको मान्छे नफर्किएझैं अब राजसंस्था पनि नफर्किने उनको दाबी छ । राजतन्त्र अन्त्य भएपनि त्यसको अवशेषमात्र बाँकी रहेको र अहिले बेला बेलामा त्यही देखापरेको उनको टिप्पणी छ । तर, नेपालमा अब राजसंस्था फर्कने कुनै सम्भावना नभएको मोदीको दाबी छ ।
अहिलेको दुई तिहाईको सरकार भएपनि बजेट जनताले अपेक्षा गरेअनुसार नआएको उनको आरोप छ । बजेटमा रोजगारी सिर्जना गर्ने कुरा नगरिएको उनको आरोप छ । बजेटलमा दलाल र बिचौलियालाई फाईदा हुने कुरा उल्लेख गरिएको पनि उनले आरोप लगाए । संसद्मा आफूहरुले सशक्त रुपमा बजेटबारे बहस गर्ने उनले सुनाए । गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न भने नदिने उनले दोहोर्याए । अहिले नै कांग्रेस र प्रधानमन्त्रीले गृहमन्त्रीलाई निर्दोष भनेर न्यायाधीशजस्तो व्याख्या गरिरहेकोमा उनले आपत्ति जनाए । उनले प्रश्न गरे,‘नेपाली कांग्रेस के न्यायलय हो ? प्रधानमन्त्री न्यायलय हो ?’
प्रतिक्रिया