मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका–०२ र उर्लाबारी नगरपालिका–०३ को सीमास्थित सुनझोडा खोलामा दुई लेनको पक्की मोटरेबल पुल निर्माणको शिलान्यास एक भव्य समारोहका बीच सम्पन्न भएको छ।
यस बहुप्रतीक्षित योजनाको शिलान्यास संघीय सांसद डा. सुनिल शर्मा र पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. १ का सांसद डीगबहादुर लिम्बु प्रदेश सांसदहरू गीता तिम्सिना, मानबहादुर लिम्बु र शोभा चेम्जोङले शिलान्यास गरेका थिए
कार्यक्रममा बोल्दै कोशी प्रदेश सांसद तथा माओवादी नेतृ गीता तिम्सिनाले सांसद डा. सुनिल शर्माप्रति हार्दिक आभार प्रकट गरिन्। उनले भनिन्,
“संघीय सांसद बन्नु उहाँको मात्र उपलब्धि होइन, हाम्रो गठबन्धनको साझेदारी पनि हो। गठबन्धन टुटेपछि कतै प्रतिबद्धता पनि टुट्ला कि भन्ने आशंका थियो, तर डा. शर्माले त्यो आशंकालाई गलत सावित गर्नुभयो।”
सांसद तिम्सिनाले थप भनिन्,
“उहाँले आफ्नो वाचा निभाउनु मात्र होइन, मैदानमा जनतासँग गरेको हरेक प्रतिबद्धतालाई कार्यान्वयनमा रूपान्तरण गर्ने साहस देखाउनुभयो। म उहाँप्रति हृदयदेखि आभार प्रकट गर्न चाहन्छु।”
उनले विगतमा आफूले पुल निर्माणका लागि संघीय सरकारका सम्बन्धित निकायहरूसँग समन्वय गर्दै योजना अघि बढाउन गरेको प्रयाससमेत स्मरण गरिन्। साथै, उनले डा. शर्माको प्रतिबद्धता र कार्यशैली सबै दलका लागि प्रेरणादायी भएको टिप्पणी गरिन्।
सुनझोडा खोलामा बन्ने पुलले पथरी शनिश्चरे र उर्लाबारी नगरवासीको जनजीवनमा ठूलो सहजता ल्याउनेछ भन्ने स्थानीयहरूको विश्वास छ। यो पुल यातायात, व्यापार तथा जनसहभागिताका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ।
यो पुल निर्माणले न केवल पूर्वाधार विकासमा टेवा पुर्याउनेछ, तर सहकार्य, समन्वय र जनप्रतिनिधिको प्रतिबद्धता कस्तो हुनुपर्छ भन्ने उदाहरण पनि पेश गरेको छ।
डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।
उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्याउने प्रतिबद्धता उनले जनाएका छन्।
हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएका छन्।
प्रतिक्रिया