रवि गृहमन्त्री हुँदा भिजिट भिषामा धेरै बिदेसिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा दैनिक औसतमा ८ सय ७४ जना बाहिरिएको देखिन्छ।

उनको पालामा सुरेश पन्थी अध्यागमन कार्यालयका प्रमुख थिए। पन्थीको पालामा २६ हजार २ सय २८ जना भिजिट भिसामा बिदेसिएका थिए।

पाँच वर्षयता कम समय बिताएका पन्थी ४ महिना २ दिन प्रमुख अध्यागमन अधिकृत भएर बसेका थिए। उनी अहिले गृह मन्त्रालय अन्त्रगतकै कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई तानेपछि पाँच वर्षयताको रिपोर्ट हेर्नेक्रममा यस्तो फेला परेको हो।

जतिबेला बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ गृहमन्त्रालयमा थिए। उनीहरुले पठाएका अध्यागमन कार्यालयका प्रमुखहरूका पालामा पनि भिजिट भिसाको दुरुपयोग निरन्तर रहेको पुष्टि हुन्छ।

बालकृष्ण खाँण गृहमन्त्री भएका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखको भूमिकामा पुष्पराज शाही र वासुदेव घिमिरेको पालामा भिजिट भिसाको दुरुपयोग भएका समाचार बाहिर आएका थिए।

गृह मन्त्रालयका अनुसार सहसचिव पुष्पराज शाही १० महिना २५ दिन अध्यागमन कार्यालयमा प्रमुख भएर बस्दा १३ हजार ९ सय ९० जना भिजिट भिसामा उडेको थिए।

शाहीले कमाण्ड लिएका बेला प्रतिदिन औसत ४ सय ६६ जना भिजिट भिसामा बिदेसिएका थिए। शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको भूमिकामा छन्।

उनी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेला सम्पत्ति शुद्धीकरण विभागको प्रमुख भएका थिए। त्यतिबेला आफैं सम्पत्ति विवरण नबुझाएको र उद्योगी व्यापारीहरूलाई अनावश्यक दुःख दिएको समाचार बाहिर आएको थियो।

त्यतिबेला निकै विवादमा परेका थिए। अहिले रुपन्देहीको प्रमुख जिल्ला अधिकारी रहेका वासुदेव घिमिरे विमानस्थलस्थित अध्यागमन कार्यालय प्रमुख हुँदा १८ हजार १ सय ९३ जना भिजिट भिसामा बिदेसिएका थिए।

६ महिना २९ दिन अध्यागमन बसेका घिमिरेको पालामा दैनिक औसत ६ सय ६ जना बिदेसिएका थिए। खाँणपछि गृहमन्त्री भएका नारायणकाजी श्रेष्ठको पालामा विमानस्थल अध्यागमन कार्यालयमा तीन जना सहसचिव पुगेका थिए।

रामबन्धु सुवेदी, गोगनबहादुर हमाल र नरबहादुर थापा नारायणकाजीका बेलामा अध्यागमन अधिकृत गएका थिए। उनकै पालामा अध्यागमन कार्यालयका ९ जना कर्मचारीहरुविरुद्ध मुद्दा चलाइएको थियो।

रामबन्धु सुवेदी प्रमुख अध्यागमन अधिकृत हुँदा भिजिट भिसामा १६ हजार ९ सय ५८ जना बिदेसिएका थिए। ५ महिना १२ दिन प्रमुख अध्यागमन अधिकृत भएर बसेका सुवेदीको पालामा दैनिक औसत ५ सय ६५ जना भिजिट भिसामा विदेश जाने गरेको पाइन्छ।

सुवेदी अहिले सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत छन्। कैलालीको सिडिओ रहेका गोगनबहादुर हमाल विमानस्थलमा हुँदा १८ हजार ४ सय ५६ जना नेपाली भिजिट भिसामा विदेश गएका थिए।

६ महिना ५ दिन प्रमुख अध्यागमन अधिकृत भएका हमालको पालामा दैनिक ६ सय १५ जना भिजिट भिषामा गएका थिए। उनकै पालमा माओवादी निकट रहेका कर्मचारी नरवीर खड्का लगायतलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले मुद्दा चलाएको थियो।

अहिले भोजपुरको प्रमुख जिल्ला अधिकारी रहेका नरबहादुर थापा विमानस्थलमा हुँदा २२ हजार २ सय ७९ जना भिजिट भिसामा बिदेसिएका थिए।

२ महिना १६ दिन अध्यागमन बसेका थापाको पालामा दैनिक ७ सय ४३ जना भिजिट भिसामा विदेश गएका थिए।

रमेश लेखक गृहमन्त्री भएपछि विमानस्थल पुगेका तीर्थराज भट्टराईको पालामा २० हजार ६सय ८८ जना भिजिट भिसामा उडेको थिए। ७ महिना १५ दिन अध्यागमन बसेका भट्टराईले दैनिक औसत ६८८ जना नेपालीलाई भिजिट भिसामा उडाएको देखिन्छ।

भिजिट भिसा काण्डले उनै भट्टराई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा तानिएका छन्। अध्यागमन विभागका प्रवक्ता एवं उपसचिव टिकाराम ढकालका अनुसार भिजिट भिसाको मापदण्ड पूरा गरेर जाने तर अधिकांशचाहिँ नफर्कने अहिलेको समस्या भएको बताउँछन्।