काठमाडौं – सर्लाहीको बरहथवा नगरपालिका–३ हजरियास्थित सरस्वती माध्यमिक विद्यालय परिसरमा असम्बन्धित व्यक्तिको राखिएको सालिक हटाउन बाटो खुलेको छ । उच्च अदालत जनकपुर इजलासले मंगलबार स्कुल परिसरमा स्थापना गरिएको वासुदेव उपाध्यायको सालिक हटाउन बाटो खोलिएको हो ।
उच्चका न्यायाधीशद्वय नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले यनप्रसाद आचार्य (नवराज) ले २०८१ चैत २६ गते सालिक नहटाउन मागसहित हालेको रिट निवेदन खारेज गरी उत्प्रेषण प्रतिशेष आदेश जारी गरेको छ । अदालतको यो आदेशसँगै अब स्कुल व्यवस्थापन समितिलाई सालिक हटाउन बाटो खुलेको हो । सोही स्कुलका पूर्वविद्यार्थी आचार्यले पैसाको बलमा आफ्ना हजुरबुबा वासुदेव उपाध्यायको सालिक स्थापना गरेका थिए ।
स्कुल स्थापनामा कुनै योगदान नभए पनि आचार्यले विद्यालय परिसरमा स्थापना गरिएको सरस्वती मन्दिर र विद्यार्थीको साइकल राख्ने स्ट्यान्ड निर्माण गरिदिएको बदलामा आफ्ना हजुरबुबाको सालिक स्थापना गरेका थिए । जसको स्थानीयले तीव्र विरोध गरेका थिए । तत्कालीन विद्यालय व्यवस्थापन समितिका पदाधिकारी विभिन्न आश्वासन र प्रलोभन देखाएर आचार्यले हजुरबुबाको सालिक राखेका थिए । तर उनले विद्यालय व्यवस्थापन समितिसँग अनुमति लिएका थिएनन् । विद्यालय व्यवस्थापन समितिले पनि उपाध्यायको सालिक राख्ने भनी निर्णय गरेको थिएन् । जसले गर्दा आचार्यले मुद्दा हारेका हुन् ।
उच्च अदालतको उत्प्रेषण प्रतिशेध आदेशअनुसार अब आचार्य स्वयंले सालिक हटाउनुपर्ने छ । नभए विद्यालय व्यवस्थापन समिति आफैंले हटाउने छ । आचार्यले सालिक स्थापना गर्न हजरियाका स्थानीय केही माओवादी र एमालेका युवा नेतालाई परिचालित गरेका थिए । सालिक हटाउनुपर्छ भनेर अभियान चलाउनेलाई उनीहरूले भौतिक आक्रमणको धम्की, मानसिक यातना, आर्थिक प्रलोभनसमेत दिएका थिए । तर अदालतले संविधान र कानुनअनुसार आचार्य पक्षलाई झापड दिएको छ ।
स्कुलसँग असम्बन्धित व्यक्तिको सालिक हटाउन सरस्वती मावि विद्यालय सञ्चालक समितिकी सदस्य आज्ञाकुमारी कटुवाल, स्थानीय नेता लखेन्द्र महतो, युवा अभियन्ता अशोक कार्कीको योगदान अतुलनीय रह्यो । स्कुल व्यवस्थापन समितिका अध्यक्ष यज्ञबहादुर खड्काको ढुलमुले चरित्रका कारण आचार्य पक्ष निकै उत्साहित भएको थियो । तर स्थानीयवासीको तीव्र विरोध र सरस्वती माविका प्रधानाध्यापक, सञ्चालक सदस्य कटुवाललगायतको अडानका अगाडि उनको कुनै जोडबल लागेन । विद्यालय सञ्चालक समितिकी सदस्य कटुवालले उच्च अदालतको आदेशको स्वागत गर्दै सत्यको जित र असत्यको हार भएको बताइन् ।
प्रतिक्रिया