काठमाडौं, २ असार । राष्ट्रिय दलित गोलमेच सम्मेलन सम्पन्न भएको छ। जेष्ठ ३०, ३१ र असार १ गते ऐतिहासिकरुपमा गोलमेच सम्मेलन सम्पन्न भएको हो । उक्त सम्मेलनले डा.निर्मल विश्वकर्माको नेतृत्व एक महाअभियान निर्माण गर्ने र दलितको समुदायको नयाँ राजनैतिक विकल्प दिने लक्ष्यसहित केही राजनीतिक र सांगठनिक प्रस्तावहरु पारित गरेको छ।
दलित गोलसम्मेलनले पारित गरेका दस्तावेजहरु आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । डा.विश्वकर्माले आफूहरुले अपेक्षा गरेअनुसारको समाज परिवर्तन नभइसकेको बताए । कूल जनसंख्याको १४ प्रतिशत जनसंख्या रहेको दलित समुदायमाथि राज्यले अन्याय गरिरहेको उनले बताए ।
‘शासकहरुको नीति, शासकहरुको नियत दलित समुदायमाथि सकारात्मक देखिँदैन । दलित समुदायप्रतिको यिनीहरुको नियत खराब देखिएको अवस्था छ,’– उनले भने ।
दलित समुदायमा एकता र एकीकरणका लागि गोलमेच सम्मेलन गरिएको पनि उनले बताए । एकीकृत हिसाबले दलित आन्दोलन अगाडि बढाएको खण्डमा शासकहरुलाई ढाल्न सम्भव रहेको उनले बताए । ‘जबसम्म दलित समुदायमा एकीकरण हुँदैन, एकता हुँदैन, जबसम्म एकीकृत हिसाबले दलित आन्दोलन अगाडि बढ्दैन । तबसम्म शासकहरुलाई ढाल्न सकिँदैन भन्ने नियतका साथ हामीले राष्ट्रिय दलित गोलमेच सम्मेलन आयोजना गरेको हो,’– उनले भने ।
दलित समुदायको बीचमा वैचारिक एकता, वैचारिक एकताको आधारमा दलित समुदायमा एकताको निर्माण गर्ने र त्यसकै आधारमा एकीकृत आन्दोलन अगाडि बढाउने गोलमेच सम्मेलनको उद्देश्य रहेको र त्यो पूरा भएको उनले बताए । गोलमेच सम्मेलनले ४२ बुँदाको संकल्प प्रस्तावसमेत पारित गरेको छ ।
उक्त संकल्प प्रस्तावको आधारमा अब नेपालको दलित आन्दोलनमा उभार आउने उनले बताए । उनले गोलमेच सम्मेलनमार्फत दलित मुक्तिको खाका पनि तयार गरिएको बताए । नेपालमा दलित मुक्तिको लागि सामुदायिक समाजवाद भन्ने नयाँ वैचारिक दर्शनसमेत प्रतिपादन गरेको उनले बताए ।
प्रतिक्रिया