काठमाडौँ, २ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हिमालहरु मानव जातिका साझा स्रोत भएका बताएकी छिन् ।
‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा पहिलोपटक आज यहाँ आयोजित ‘सगरमाथा संवाद’को उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै उनले हिमाल करोडौँ मानिसको ताजा पानीको स्रोत बनेको बताइन् ।
हिमालयले आज जलवायु प्रेरित अवरोधको सबैभन्दा ठूलो भार बोकिरहेको बताउँदै उनले हिमनदी जलवायुको असरका कारण पग्लिने क्रम तीव्र रुपमा बढेको उल्लेख गरिन् । यसले गर्दा हिमाली समुदायको दैनिक जीवनमा नकारात्मक प्रभाव परेको उनको भनाइ थियो ।
“जलवायु प्रेरित प्रकोपहरूले मानव अस्तित्व र जीविकोपार्जनको जगलाई नै हल्लाइरहेको छ” उनले भनिन्, “जलवायु परिवर्तनका कारण बाढी र हिमताल विस्फोटले ठूलो विनाश भएको छ । खडेरी डढेलोले मानवलाई अथाह पीडा दिएको छ ।”
मन्त्री डा राणाले यो संवाद मनन र आत्मनिरीक्षण गर्ने अवसर प्रदान गर्ने र हिमालदेखि समुद्रसम्म तथा उत्तरीदेखि दक्षिणी गोलाद्र्धसम्म जलवायुजन्य विपत्ति रोक्ने प्रयास भएको बताइन् । उनले नाजुक हिमाली पारिस्थितिक प्रणाली भएको देश नेपालले जलवायु परिवर्तनको मार खेपिरहेको जानकारी गराइन् ।
प्रतिक्रिया