सुकुम्बासी बस्तीमा खानेपानीको माग


आम जनता पार्टी (आजपा) निकट आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघले सुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आज (सोमबार) परिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले अहिले सुकुम्बासी बस्तीमा राज्यले खानेपानी उपलब्ध नगराएको बताएको हो ।

संघका अध्यक्ष कालबहादुर विश्वकर्माले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई नेपाल सरकारले खानेपानी नदिएको बताए । उनले सुकुम्बासीको भोट दिएर सुकुम्बासीकै विरुद्धमा काम भइरहेको बताए ।‘भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई नेपाल सरकारले खानेपानी दिएको छैन । सुकुम्बासीहरुको वस्तीमा भोट लिने, अनि सुकुम्बासीहरुकै विरुद्धमा कानुन बनाउने, पानी नदिने भइराखेको छ,’– उनले भने ।

साथै, काठमाडौं महानगरपालिकाले सधैं सुकुम्बासीहरुलाई तर्साउने, कवाड व्यवसायीहरुलाई तर्साउने काम गरिरहेको पनि उनले बताए । ‘सुकुम्बासीको भोट लिएर मेयर बन्ने अनि सुकुम्बासीकै विरुद्धमा डोजर लगाउने काम भइरहेको छ,’– उनले भने ।

कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष अमर मगर, महासचिव एमडी सतार, आजपाका सहअध्यक्ष तिलक थापामगर, अजपाका प्रवक्ता चन्द्रभुषण साह, आजपा कार्यालय सदस्य धनकुमारी मगर, आजपा महिला नेतृ रञ्जु साह, आजपा केन्द्रीय सचिवालय सदस्य पासाङ तामाङलगायतको उपस्थिति रहेको थियो ।