ईट्टा भट्टामा श्रम गर्दै ४ GPA ल्याउने गोमा श्रेष्ठलाई भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङद्वारा सम्मान , डाक्टर पढ्ने सपना पूरा गरिदिने घोषणा


भक्तपुर, असार १८ ।
भक्तपुरको सुडालस्थित एक ईँटा भट्टामा श्रमिक बाबुलाई साथ दिँदै अध्ययन गरेकी गोमा श्रेष्ठले एसईईमा ४.०० GPA ल्याएपछि समाजमा प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी छन्। उनको यस असाधारण सफलता र संघर्षलाई कदर गर्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले आफ्नै कार्यकक्षमा बोलाई गोमालाई सम्मान गरेका छन्।

सम्मान समारोहमा गुरुङले गोमा श्रेष्ठलाई एक थान ल्यापटप र उनको उच्च शिक्षाको यात्रा प्रारम्भका लागि नगद एक लाख रुपैयाँ सहयोग स्वरूप प्रदान गरेका छन्। गोमाका पिता उपस्थित कार्यक्रममा गुरुङले भावुक हुँदै भने, “बहिनिको डाक्टर पढ्ने सपना म पूरा गर्दिन्छु।”

गुरुङले गोमाको संघर्षपूर्ण पृष्ठभूमि र शैक्षिक उत्कृष्ठताप्रति प्रशंसा व्यक्त गर्दै भविष्यमा उनको डाक्टरी अध्ययनसम्मको सम्पूर्ण शैक्षिक यात्रामा आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाए।

“गोमाजस्ती मेहनती र इच्छाशक्ति भएकी छोरीको सपना साकार पार्न म पछि हट्दिन। उहाँले डाक्टर बन्ने सपना देख्नुभएको छ भने त्यो सपना पूरा हुने कुरामा म पूर्ण साथ दिन्छु,” गुरुङले भने।

सामान्य आर्थिक अवस्था, श्रम र अध्ययन एकसाथ अघि बढाउँदै ल्याएको यो सफलता र त्यसलाई कदर गर्दै गरिएको सहयोगले मुलुकभरका विद्यार्थीहरूलाई थप हौसला र प्रेरणा दिने विश्वास गरिएको छ।