नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सत्ता–सहकार्य तत्कालै नटुट्ने दाबी गरेका छन् । पार्टीको केन्द्रीय कार्यसमिति बैठकको समापन गर्दै देउवाले एमालेसँगको सहकार्य राम्रो चलिरहेको भन्दै तत्काल गठबन्धनको विकल्प नखोजिने बताएका हुन् ।
बैठकमा सहभागी एक नेताकाअनुसार देउवाले एमालेसँगको सहकार्य एकदमै राम्रोसँग चलिराखेको छ । राजनीतिक स्थायित्व र आर्थिक विकासको लागि एमालेसँग कांग्रेसले सहकार्य गरेको भन्दै देउवाले यो सहकार्य सहमतिबमोजिम नै अघि बढ्ने दाबी गरेका हुन् ।
उनले गठबन्धनभित्र दुई ठूला दलबीच सहकार्य हुँदा अलि अलि समस्या आउनु नौलो कुरा नभएको पनि टिप्पणी गरेका छ्न । तर, सरकारले लिएका महत्वपूर्ण निर्णयहरुमा दुई दलबीच सहमति भएर नै निर्णय हुने गरेको देउवाको भनाई थियो । बैठकमा एमालेसँगको सहकार्यको समिक्षा भएको थियो ।
अधिकांश नेताहरुले सरकार प्रभावकारी हुन नसकेकोले अब कांग्रेसले नै नेतृत्व लिनुपर्ने सुझाव दिएका थिए । ती नेताहरुलाई जवाफ दिँदै देउवाले गठबन्धन दायाँबायाँ नहुने विश्वास दिलाएका हुन् । देउवाअघि बोलेका महामन्त्री गगन थापालेपनि सरकारको विकल्प नखोजिने बताएका हुन् । बरु, सरकारलाई प्रभावकारी बनाउनको लागि मन्त्रीहरु फेर्नुपर्ने गगनको मत थियो ।
प्रतिक्रिया