नेकपा एमाले पोलिटब्युरो बैठकमा महेश बस्नेतको स्पष्ट सन्देश : “राष्ट्रपतिको गरिमा बचाऔं, गुट बन्द गरौं”


काठमाडौं, नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले समसामयिक राजनीतिक घटनाक्रम र आन्तरिक पार्टी विषयहरूमा निकै स्पष्ट र धारिलो प्रस्ताब राखेका छन्। पार्टीको संगठनात्मक मजबूती, नेतृत्व चयन प्रक्रिया, र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकासम्बन्धी सवालमा उनले संयमित तर स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय पार्टी राजनीतिमा पुनः प्रवेशबारे उठेका प्रश्नका सन्दर्भमा बस्नेतले भने, “राष्ट्रपतिसम्मको गरिमा बोकेकी कमरेडले त्यो मर्यादा मेट्ने इथिकल र प्रक्रियागत गल्ती गर्नु हुँदैन।” उनले लोकतन्त्र र आन्तरिक जनवादको मूल्य मान्यतासँग मेल नखाने व्यवहार नदोहोर्याउन आग्रह गरे।

पूर्वराष्ट्रपतिको पार्टी सदस्यता पुनःनवीकरणबारे उनले स्पष्ट पाटो उजागर गर्दै भने, “यो सामान्य विषय होइन, केन्द्रीय समितिको निर्णयबाट मात्र टुंगो लगाइनुपर्छ।”

पार्टीको नेतृत्व र उमेर सीमाबारे पनि उनले विमर्श उठाउँदै भने, “७० वर्षे उमेर सीमा हामी आफैंले बनाएको हो। अहिले त्यो हटाउने औचित्य देखिन्न। अवकाश स्वचालित नभई क्षमता र स्वेच्छाका आधारमा हुनुपर्छ।” उनले नेता मकुन्द न्यौपानेको प्रसंग उल्लेख गर्दै पद नपाउँदा ‘हटाउने’, पाएपछि ‘नचाहिने’ भन्ने दोधार अवस्थाको आलोचना गरे।

नेतृत्व प्रतिस्पर्धाको सन्दर्भमा पनि स्पष्ट धारणा

महाधिवेशनबाट २ कार्यकालको सीमा हटाइसकेको प्रसंग उल्लेख गर्दै बस्नेतले भने, “अब नेताहरूको छनोट क्षमता र योग्यताको आधारमा हुनुपर्छ, विधान छापेर षड्यन्त्रको आरोप लगाउनु उचित होइन।”

पूर्वराष्ट्रपति भण्डारीलाई वैकल्पिक नेताको रूपमा प्रस्तुत गरेर गुट निर्माण गर्ने प्रयासको पनि उनले आलोचना गरे। “गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौं,” उनले सशक्त रूपमा भने।

सचिवालय निर्णयलाई स्वीकार्न आग्रह

“सचिवालयमा बहुमत छ भनेर मिडियामा हल्ला चलाउनु, अनि निर्णय आफूअनुकूल नआएपछि अण्ट–सण्ट बोल्नु बन्द गरौं”, बस्नेतले भने। सचिवालयबाट आएको विधान संशोधन प्रस्तावलाई पोलिटब्युरोबाट परिमार्जनसहित सर्वसम्मत पारित गर्न आग्रह गरे।

भविष्यको नेतृत्वबारे केपी ओलीको विकल्प अहिले छैन

पार्टीभित्र नेतृत्वप्रति असक्षमता देखाउने प्रवृत्तिको आलोचना गर्दै उनले भने, “अध्यक्षको विकल्प अहिले तयार छैन। त्यसैले पार्टीको आगामी कार्यकाल पनि केपी ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने प्रस्ताव गर्दछु।”

संस्थागत सुधारका लागि विधान सम्बन्धी सुझावहरू

बस्नेतले पार्टी विधान सुधारतर्फ पनि स्पष्ट सुझावहरू अघि सारे, जसमा स्थायी कमिटीको संख्या २५ पुर्याउने, उपत्यका विशेष कमिटी गठन गर्ने, प्रवासमा विभिन्न वर्गीय संगठनहरू विस्तार गर्ने, र बसाइँसराइ बढी भएका जिल्लामा सक्रिय सम्पर्क कमिटी बनाउने उल्लेख छन्।

राजनीतिक समीकरणबारे कडा चेतावनी

हालै चर्चा आएको पूर्वराष्ट्रपति भण्डारी, शेखर कोइराला र प्रचण्ड मिलेर सत्ता समीकरण बनाउने भनाइबारे पनि बस्नेतले कडा चेतावनी दिए। “बाम एकताको नाममा एमाले कमजोर पार्ने चालमा सामेल कम्युनिस्ट विरोधी तत्वहरूलाई प्रवेश दिनु हुँदैन”, उनले स्पष्ट शब्दमा भने।