काठमाडौं, ५ साउन । दोलखाको सिंङ्गटीमा रहेको रोलवालिङ सामूदायिक अस्पतालमा अशाय, गरिब, विपन्न तथा अपांगता भएकाहरुलाई सकेसम्म निःशुल्क र विशेष छुटमा उपचार गरिने भएको छ । अस्पतालका सञ्चालक शुभ खड्काले पैसा नभएका गरिबहरुलाई आफ्नो अस्पतालले निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् । उनले अस्पतालले सबै रोगको उपचार सेवा दिईरहेको बताए ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै खड्काले विगत १२ देखि अस्पतालले सबैखाले रोगको उपचार प्रदान गरिरहेको बताए । उनले भने,‘२०७० सालमा अस्पताल खोलेको हुँ । १५ बेडको अस्पताल सञ्चालन गरिरहेको छु । एक सय बेड स्तरोन्नतीको लागि भनेको छु । तर, स्विकृत भएको छैन् । विशेषज्ञ सेवा जारी छ । उत्तरी दुर्गम भेगमा शल्यक्रियासहितको चिकित्सा सेवा दिएको छु ।’
अस्पतालमा अर्थोपेडिक्स सर्जनहरुसमेत रहेको उनको भनाई छ । उनले भने,‘सामूदायिक रुपमा सञ्चालन यस अस्पतालमा हामीले गरिब, उत्पीडनमा परेकाहरुलाई धरै छुट दिएको छौं । अनाथलाई शतप्रतिशत छुट दिईएको छ । अपांग र बृद्धलाई ५० प्रतिशत छुट । आमा सुरक्षित कार्यक्रमपनि निःशुल्क गरेको छु । नेपाल सरकारबाट पाउनुपर्ने सुविधा निःशुल्क प्रदान गरेको छु ।’ अहिले सरकारलाई अस्पतालको स्तरोन्नतीको लागि आग्रह गरिएको उनको भनाई छ । उनले भने,‘एक सय बेडको लागि भनेको छु । २४सै घण्टा विशेषज्ञ चिकित्सकीय सेवाको लागि काम गरेका छौं । खुट्टा, हात भाँच्चियो भने पहिले पहिले काठमाडौं आउनुपर्ने बाध्यता थियो, अहिले हाम्रै अस्पतालमा उपचार भैरहेको छ ।’
अस्पतालले पायल्स, हाईड्रोसिल, एपेण्डिक्स, सिएस, पाठेघरको अपरेशनलगायतका सेवा प्रदान गरिरहेको खड्काले बताए । उनले भने,‘हामीले धेरै सस्तो र सुलभमा सेवा प्रदान गरेका छौं । थप उपचारको लागि समन्वय गरिरहेका छौं ।’ आफ्नो क्षेत्रमा सरकारी अस्पताल तीन÷चार वटा भएपनि जनताले भनेको सेवा÷सेविधा लिन नपाएको गुनासो आएको उनको टिप्पणी छ । उनले भने,‘बीमा नाममात्रै छ । औषधी पनि किन्नुपरेको छ । हामी निजी भएपनि जनतालाई सुविधा दिएका छौं । धेरैलाई निःशुल्क उपचार गरेका छौं ।’
जिल्लाको गौरीशंकर, विगु, कालिञ्चोक गाउँपालिकाका जनताले आफ्नो अस्पतालबाट प्रत्यक्ष लाभ लिएको उनको भनाई छ । अस्पतालले प्रत्येक शनिबार र महिनामा एकपटक विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविरसमेत प्रदान गरेको उनको भनाई छ । उनले भने,‘हेल्थ क्याम्पमा भिडिओ एक्सरे सेवा दिएका छौं । हिँडेर जानुपर्ने हुन्छ, बोक्नसक्ने मेशिन बोकेर लिएर जान्छौं । थानी, सुरेल, शेर्पा, तमाांङ जातिका समूदायले सेवा लिएका छन् । मैले निजीस्तरबाट पनि शिविर चलाएर सेवा गरेको छु । क्यान्सर रोगको पनि सेवा दिन्छौं ।’
प्रतिक्रिया