काठमाडौँ, साउन ९, शुक्रबार – रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट किरण बिकले काठमाडौँमा एक पत्रकार सम्मेलन गरी आफ्नो निर्दलीय उम्मेदवारीको घोषणा गरेका छन्। आफूलाई सामाजिक उदारवादी र समावेशी मूल्य-मान्यताको समर्थकका रूपमा प्रस्तुत गर्दै बिकले भैरहवालाई ‘क्रिप्टो भ्याली’ बनाउने महत्वाकांक्षी एजेन्डा अगाडि सारेका छन्। विगत ११ वर्षदेखि राजनीति, फिल्म मेकिङ र लेखनमा सक्रिय रहेका बिकले उदार लोकतन्त्र र मिश्रित अर्थतन्त्रलाई आफ्नो राजनीतिक दर्शन बताए। उनले खुला समाजको समर्थन गर्दै महिला, मधेसी, जनजाति, मुस्लिम, दलित, थारु, अपाङ्ग लगायतका अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हकहित र LGBTIQA++ का अधिकारको पक्षमा वकालत गर्ने प्रतिबद्धता व्यक्त गरे।
बिकका मुख्य प्रतिबद्धताहरूमध्ये भैरहवालाई क्रिप्टो भ्याली घोषणा गर्ने, संसदमा क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिन पैरवी गर्ने, र क्रिप्टो मुद्दामा फसेका युवाहरूलाई न्याय दिलाउन जेल वा थुनामा रहेकालाई रिहा गर्न तथा मुद्दा रद्द गर्न पहल गर्ने रहेका छन्। यसबाहेक, उनले भैरहवालाई आर्थिक राजधानी र अन्तर्राष्ट्रिय मनोरञ्जन पर्यटकीय सहरका रूपमा विकास गर्ने, लुम्बिनी महानगरको अवधारणालाई कार्यान्वयन गर्ने, र व्यवस्थित सहरीकरण गर्ने योजना पनि प्रस्तुत गरे। जलवायु परिवर्तनको असरबाट भैरहवालाई जोगाउने, संवैधानिक अदालतको छुट्टै व्यवस्था गर्ने, रुपन्देही ३ लाई आधुनिक कृषिको केन्द्र बनाउने र शैक्षिक हबका रूपमा स्थापित गर्ने पनि उनका एजेन्डाहरूमा समावेश छन्।
लागुऔषधसम्बन्धी कडा कानुनलाई नरम बनाउँदै सेवनकर्तालाई सुधारात्मक रिमेडीमा जोड दिने कानुन निर्माण गर्ने र रुपन्देही ३ लाई गुणस्तरीय तथा सस्तो स्वास्थ्य सेवा प्रवाह गर्ने सहर बनाउने प्रतिबद्धता पनि बिकले व्यक्त गरे। स्वास्थ्य क्षेत्रमा बढ्दो व्यवसायीकरण र निजीकरणलाई भैरहवाबाटै रोक्ने उनको भनाइ छ। सहरी योजनामा स्नातकोत्तर, कानूनमा स्नातक (एलएलबी) र फिल्म मेकिङमा स्नातक गरेका ३१ वर्षीय किरण बिक बुटवलका स्थायी बासिन्दा हुन् र केही विकास संस्थाहरूमा सदस्यका रूपमा पनि सक्रिय छन्।
प्रतिक्रिया