विद्या भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत गर्दै ऋषि धमलाले भने : अब यो देशलाई महिला प्रधानमन्त्री चाहियो
रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले मुलुकलाई अब महिला प्रधानमन्त्री चाहिएको बताएका छन् । उनले विद्यादेवी भण्डारी नेपालको प्रथम महिला राष्ट्रपति भएको उल्लेख गर्दै अब मुलुकमा प्रथम महिला प्रधानमन्त्री आवश्यक भएको औंल्याए ।
आज (शनिबार) काठमाडौंमा मोरङ समाज काठमाडौंले आयोजना गरेको हरितालिकाविशेष समारोहलाई अतिथिको रुपमा सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् । उनले भने,‘म त यो देशमा महिला प्रधानमन्त्री हुनुपर्छ भन्ने मान्छे हुँ । यो देशले महिला राष्ट्रपति पायो, अब महिला प्रधानमन्त्री देशलाई चाहियो । अनिमात्रै देशमा विकास र समृद्धि हुन्छ । त्यसको लागि मोरङबाटै सुरुवात गर्ने हो कि, मोरङबाट धेरै नेताहरु राष्ट्रको प्रधानमन्त्री भए, नेतृत्वमा पुगे, राणा शासनविरुद्ध त्यही जिल्लाबाट क्रान्तिको नेतृत्व पनि भयो । पञ्चायती व्यवस्थाविरुद्ध पनि मोरङबाट नै क्रान्तिको नेतृत्व भयो । राजसंस्थाविरुद्ध पनि त्यहीँबाट क्रान्तिको नेतृत्व भयो । अब नेपालको पहिलो महिला प्रधानमन्त्री पनि मोरङवासी हुनेछ भन्ने विश्वास लिएको छु ।’
उनले देशमा महिलाहरुले आफ्नो ठाउँबाट खेलेको भूमिका ठूलो रहेको भन्दै सधैं प्रशंसा गर्ने बताए । उनले देशको हरेक परिवर्तन र विकास तथा समृद्धिमा मोरङवासीले अतुलनीय योगदान गरेको स्मरण गरे । उनले विद्या भण्डारीले आफ्नो सिंगो जीवनमा हरेक किसिमका दुःख, कष्ट, समस्या र संघर्ष भोगेर देशको नेतृत्वदायी भूमिकामा पुगेको पनि बताए ।
उनले विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेको विषयमा सबैले स्वागत गर्नुपर्ने बताए । उनले भने,‘हामी सबैले उहाँलाई खुलेर प्रशंसा गरौं, साथ दिनुपर्छ । कोही पनि देश बनाउन आउँछ भने हामीले ठाउँ दिनुपर्छ । देश बनाउनुपर्छ । विकास गर्नुपर्छ । विकास र समृद्धि सबैको चाहना हो ।’
प्रतिक्रिया