दुई तिहाईको शक्तिशाली सरकारले पनि युवालाई देशमै रोजगारी दिन सकेन : धमला


रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले दैनिक हजारौंको संख्यामा युवाहरुले देश छोड्नुपरेको भन्दै सरकार युवा पलायन रोक्नको लागि गम्भीर नबनेको आक्रोश पोखेका छन् ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उनले भने,‘दैनिक हजारौंको संख्यामा युवाले देश छोड्नुपरेको छ । यो उनीहरुको बाध्यता हो । गाउँमा मलामी पाउन छोडेको कुरा बाहिरिएका छन्, युवा मान्छे नभएर शव उठ्न सकस भएको छ । यो दुई तिहाईको शक्तिशाली सरकारले पनि युवालाई देशमै रोजगारी दिन सकेन । खोई युवाहरुलाई रोजगारी ? युवाहरु देशव्यापी रुपमा पीडामा छन् । देशमै रोजगारी भएको भए युवाहरु विदेशिनुपर्ने थिएन ।’

धमलाले देशमा युवाले हरेक तहमा नेतृत्वदायी भूमिका लिनुपर्ने बताए । उनले भने,‘हाम्रो देशमा युवा किन प्रधानमन्त्री बन्न सकेन ? ५० वर्ष पुगेको व्यक्ति किन प्रधानमन्त्री बन्न सकेन ? देउवा, ओली र प्रचण्ड घुमिफिरी प्रधानमन्त्री बन्नुभएको छ । उहाँहरु तीनै जना युवा होईन। देउवा ८० वर्ष पूरा हुनुभयो, फेरि प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।’

उनले जनताको अवस्था सुधार गर्नेबारे वर्तमान सरकार गम्भीर बन्न नसकेको आरोप लगाए । राजनीतिमा नेपालको युवा पुस्ता असक्षम भएको पनि धमलाको दाबी छ । उनले भने,‘केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलाई गाली गरेरमात्रै हुँदैन, युवा साथीहरुले नेतृत्वको लागि हस्तक्षेप गर्नुभयो त ? विस्थातिप गर्न सक्नुहुन्छ ? आन्दोलन र व्यवस्था बदल्नको लागि युवा नै सडकमा उत्रिएको थियो । तर, आज नेतृत्वको सवालमा युवाको प्रतिनधित्व कहाँ छ ? व्यवस्था परिवर्तन गर्नसक्ने युवा किन अवस्था परिवर्तन गर्न सक्दैन ?’