काठमाडौं, १३ भदौ । ब्लु डायमन्ड सोसाइटीकी पूर्व अध्यक्ष सञ्जिव (पिंकी) गुरुङले हाइड्रोपावर कम्पनीमा लगानी गरिदिने भन्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरूबाट ठगी गरेको तथ्य बाहिरिएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका पीडितहरुले पत्रकार सम्मेलन गर्दै गुरुङले २०७४ तिर ६०÷७० जनाबाट प्रतिव्यक्ति ५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाएको बताएका हुन् ।
उनले काठमाडौं जिल्ला प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा स्वयं उपस्थित भई ‘विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी’ को नाममा शेयरका लागि रकम सङ्कलन गरेको कुरा स्वीकार गरिसकेको पीडितहरुको भनाइ छ । तर गुरुङले करिब ७ वर्षपछि ‘इनर्जी इन्जिनियरिङ प्रा.लि.’ नामक अर्को कम्पनीको शङ्कास्पद शेयर प्रमाणपत्र वितरण गरेर समुदायलाई झुक्याउने प्रयास गरेको पीडितहरुको भनाइ छ ।
उनीहरुले विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीको शेयर प्रमाणपत्र प्रदान गर्न अथवा समुदायका सदस्यहरूबाट उठाएको सम्पूर्ण रकम तुरुन्त फिर्ता गर्न पूर्व अध्यक्ष गुरुङलाई चेतावनी दिएका छन् । आफूहरुको माग ७ दिनभित्र पूरा नभएको खण्डमा कानुनी उपचार खोज्ने उनीहरुको चेतावनी रहेको छ ।
प्रतिक्रिया