काठमाडौं, २० भदौ । धनुषा गणेशमान चारनाथ नगरपालिकामा धनुषा आयल स्टोर्स नामक पेट्रोल पम्प चलाएका विवेक शाहले आफूमाथि कुटपिट र १२ लाखभन्दा बढि रकम लुटिँदापनि प्रहरीले दोषीहरुमाथि कारबाही नगरेको र जाहेरीसमेत नलिएको गुनासो पोखेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू ठूलो अन्यायमा परेको भन्दै न्याय दिलाईदिन हारगुहार गरेका हुन् ।
उनले आफूसँग हप्ता माग्न आएकाले कुटपिट गरेको बताए । घट्ना यही भदौ ६ गते मध्यराति भएको हो । साउथ मुभिमा जस्तो गुण्डाहरुको प्रवृत्ति देखिएको उनको भनाई छ । यसरी कुटपिट र लुटपाटको घट्नामा संलग्नहरु गणेशमान चारनाथ–१ का २८ वर्षीय अशोककुमार साह तेली, २७ वर्षीय नविन पुर्वछाने मगर, ३३ वर्षीय सन्तोष बलमपाखे मगर, ३० वर्षीय निरज मगर र अन्य एक जनाले आयल स्टोर्समा आएर पेट्रोल पम्पका कर्मचारीमाथि कुटपिट र लुटपाट भएको साहले सुनाए । साहले घट्नाको सबै प्रमाण आफूहरुसँग सुरक्षित रहेको भन्दै सिसिटिभी फुटेज पनि प्रहरीलाई उपलब्ध गराएको बताए ।
उनले भने,‘यो घट्नाको विषयमा म जिल्ला प्रहरी प्रमुख नरहरि रेग्मीसँग पुगें । उहाँले जाहेरी दर्ता गरिदिन्छु भन्नुभयो । तर, आजको दिनसम्म पनि दर्ता गर्नुभएको छैन । डिआईजी उमाप्रसाद चतुर्वेदीसमक्ष गुहार गरेको छु ।’ आफू न्याय माग्नको लागि एक हप्तादेखि काठमाडौंमा नै रहेको पनि साहले जानकारी दिए । ती युवाहरु तेल माग्ने बहानामा पम्पमा आएको र ट्यांकीमा नभई बोटलमा तेल मागेको पनि साहले बताए।
प्रतिक्रिया