रविन्द्र मिश्र लेख्छन् : हे विद्वान महोदयहरू हो,अब त भन्नोस्: “भयो, पुग्यो, भोगियो, देखियो, हामी सबैले गल्ती गर्यौँ, अब सबै मिलेर जाऊँ!”


२०४६ सालको ५० दिने पहिलो जनआन्दोलनमा करिब ५० जनाकै ज्यान गएपछि राजा वीरेन्द्रले ३० वर्ष लामो पञ्चायती व्यवस्था त्यागिदिए र शान्तसँग बसे।

२०६/६३ सालको २१ दिने जनआन्दोलनमा १९ जनाको ज्यान गएपछि राजा ज्ञानेन्द्रले हजारौं वर्षदेखि नेपाल क्षेत्रमा रहि आएको राजसंस्थाको परम्परालाई त्यागिदिए र शान्तसँग बसे।

२०८२ सालको २ दिने ‘जेनजी विद्रोह’मा ७५ जनाको ज्यान जाँदा समेत त्यो अवस्था आउनमा जिम्मेवार नेता तथा पार्टीमा कुनै पीडाबोध र पश्चताप छैन।

तर तिनलाई मात्र के दोष दिनु? यति हुँदा पनि, “भयो, पुग्यो, भोगियो, देखियो, हामी सबैले गल्ती गर्यौँ, अब सबै मिलेर जाऊँ” भन्ने भाव देशका विद्वत्ववर्गहरूबाट आइरहेको छैन।

देश प्रष्टैसँग झनझन गहिरो संकटमा फस्दै जाँदा समेत ती सबै अर्थहीन विश्लेषणको बौद्धिकता छाँट्नमैँ मख्ख छन्।

दशकौँदेखि उनीहरूले छाँटेको बौद्धिकताले केही काम नगरेको र उनीहरूले निर्माण गरेको भाष्यका कारण देश यो दलदलमा फसेको उनीहरूलाई कत्ति पनि अनुभूति छैन।

अझै पनि उनीहरूलाई देशभन्दा आफ्नै वैचारिक दासता प्यारो भएको प्रतित हुन्छ!