काठमाडौं, असोज १९ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA) ले मलेसियाको Foreign Worker Centralized Management System (FWCMS) मार्फत सीमित २५ नेपाली म्यानपावर कम्पनीलाई मात्र ‘Registered Recruitment Agencies’ का रूपमा सूचीकृत गरी कामदार पठाउने व्यवस्था गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ।
संघले मलेसिया रोजगारी बन्द गर्ने पक्षमा आफूहरू नरहेको, बरु रोजगारी सहज रूपमा खुलाउनुपर्ने स्पष्ट पारेको छ। तर, करिब १,२०० वैधानिक वैदेशिक रोजगार व्यवसायी हुँदाहुँदै २५ कम्पनीलाई मात्र कामदार पठाउने अधिकार दिइएमा यस्तो व्यवस्था ‘सिन्डिकेट’तर्फ जाने संघको दाबी छ।
संघका अनुसार सीमित कम्पनीलाई मात्र अधिकार दिँदा प्रतिस्पर्धा कमजोर हुने, श्रमिकको लागत बढ्ने, पारदर्शिता घट्ने र अनौपचारिक रकम असुली बढ्न सक्ने जोखिम रहन्छ।
संघले भनेको छ, “मलेसिया रोजगारी खुल्नुपर्छ, तर नेपालको कानुन, राज्यको अधिकार र श्रमिकको हितभन्दा माथि कुनै निजी वा सीमित प्रणालीलाई राख्न सकिँदैन।”
FWCMS को विषयलाई मलेसियासँग मात्र जोडेर हेर्न नहुने संघको भनाइ छ। विगतमा विभिन्न श्रम गन्तव्यमा देखिएका G2G, बायोमेट्रिक, साउदी–कतारका विभिन्न प्रणाली तथा निजीकरण र एकाधिकारका अभ्यासबाट राज्यले पाठ सिक्नुपर्ने संघले जनाएको छ।
संघले मलेसिया रोजगारीलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउँदै सबै वैधानिक म्यानपावर कम्पनीलाई समान अवसर दिनुपर्ने मागसमेत गरेको छ।

प्रतिक्रिया